17/04/2026
भोलि बिहानै लाइन जाने सूचना
दमक सब-स्टेसनमा अटोमेसन जडान कार्यका लागि पुर्वी नेपालको झापा र मोरङमा लाइन शनिबार बिहान दुई घण्टा बन्द हुने
उर्लाबारी / नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत सञ्चालित 'ग्रिड सब-स्टेसन अटोमेसन आयोजना फेज २' को कार्यका लागि आगामी शनिबार विद्युत सेवा अवरुद्ध हुने भएको छ। प्राधिकरणका अनुसार १३२ केभी दमक सब-स्टेसनमा सब-स्टेसन अटोमेसन सिस्टम (SAS) जडान गर्नुपर्ने भएकाले उक्त दिन विद्युत लाइन सटडाउन गर्न लागिएको हो।
यस कार्यका लागि आगामी २०८३ साल वैशाख ५ गते शनिबार बिहान ५:०० बजेदेखि ७:०० बजेसम्म १३२ केभी दुहबी फिडर पूर्ण रूपमा बन्द रहनेछ। दुहबी-दमक फिडर सटडाउन हुँदा दुहबीदेखि पूर्वतर्फ पर्ने विभिन्न जिल्ला र क्षेत्रहरूको विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।
यस सटडाउनका कारण विशेषगरी झापा जिल्लाभर र मोरङ जिल्लाको पूर्वी क्षेत्रको विद्युत सेवा अवरुद्ध हुनेछ। यसबाट नेपाल विद्युत प्राधिकरणका दमक वितरण केन्द्र, गौरीगञ्ज वितरण केन्द्र, बिर्तामोड वितरण केन्द्र, भद्रपुर वितरण केन्द्र, शनिअर्जुन वितरण केन्द्र, र धुलाबारी वितरण केन्द्र अन्तर्गतका ग्राहकहरू प्रत्यक्ष प्रभावित हुनेछन्। साथै, मोरङको उर्लाबारी वितरण केन्द्र र बेलबारी वितरण केन्द्र अन्तर्गतका केही पूर्वी क्षेत्रहरूमा पनि सोही समयमा विद्युत आपूर्ति बन्द रहनेछ।
प्राधिकरणले अटोमेसन प्रणाली जडान भएपछि सब-स्टेसनको कार्यक्षमता र सेवामा सुधार आउने उल्लेख गर्दै, विद्युत आपूर्ति अवरुद्ध हुँदा ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। साथै, सम्बन्धित सबै ग्राहक तथा उद्योगहरूलाई सोही अनुसार पूर्वतयारी र समन्वय गर्न समेत अनुरोध गरिएको छ। निर्धारित समयभन्दा अगाडि कार्य सम्पन्न भएमा सोही अनुसार लाइन सुचारु गरिने समेत जानकारी गराइएको छ।